नेपाली क्रिकेट टोली भारतसँग खेल्न श्रीलंकातिर लाग्यो

काठमाडौं,भदौ,१४-एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका प्रस्थान गरेको छ।

एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंकातर्फ लागेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ।

बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो।
अब नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ मा खेल्नेछ। खेल श्रीलंकाको क्यान्डीमा हुनेछ।

त्यसअघि यो समूहको अर्को खेलमा प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन्।यो खेल भदौ १६ मा श्रीलंकामै खेल हुनेछ।

समूह ‘ए’बाट २ टोली सुपर ४ मा जाँदा १ टोल भने पहिलो चरणबाटै बाहिरिनेछ।

यस्तै, समूह ‘बी’मा आज घरेलु टोली श्रीलंका र बंगलादेश भिड्दैछन्।यो समूहमा अफगानिस्तान पनि छ।