नेपालको ओमानमाथि ऐतिहासिक जित

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारी

फाईल तस्विर !!

काठमाण्डौं,असोज,४-कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो ।

जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे ।

ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरेका थिए । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्रले नेस्टर धम्बालाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रनको योगदान दिए । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई इतिहासमा नेपालबाट यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा खराब सटका साथ फस्ट स्लिपमा जतिन्दर सिंहबाट ६ रनमा क्याच आउट हुँदै पेभिलिएन फर्केका थिए । रोहित कुमार पौडेल ६ रनमा आउट भए । ओमानका नेस्टर धम्बाले सर्वाधिक दुई विकेट लिए । कलिमुल्लाहले एक एक विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भएको थियो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान मकसुद बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्

करणको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानले लगातार विकेट गुमाएको थियो ।

करणको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट हुन पुगे । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३०–३ को अवस्थामा पुर्याए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ओमानको ब्याटिङ ध्वस्त बनाएका थिए ।

सन्दीपले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई चार रनमा एलबीडब्लू आउट गरे । सन्दीपलेनै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तै सन्दीप अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । अन्तिम बलम सन्दीप गौडले ह्याट्रिक हुनबाट रोके ।

त्यसपछि पार्टटाइम स्पिनर शरद भेषावकरले दुई विकेट लिँदै ओमानलाई कम योगफल नजिक पुर्याएका थिए । शरदको २२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट हुन पुगे । ओडिआईमा शरदको यो पहिलो विकेट हो । शरदको ३० औं ओभरको चौथो बलमा ठूलो सट खेलेका नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।

विश्वकप लिग-२ अंक तालिका

ओमान १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित नेटरन रेटको आधारमा पाँचौं स्थानमा । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै छैटौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।हाम्रो खेलकुदबाट