कोरोना संक्रमणबाट बिहानै गर्भवतीसहित थप ४ जनाको मृत्यु

फाईल तस्विर !!

काठमाडौं,भदौ,११-कोरोना संक्रमणका कारण बिहीबार बिहानै एक गर्भवतीसहित थप चार जनाको मृत्यु भएको छ।वीरगञ्ज, बुटवल, ललितपुर र पोखरामा गरेर थप चार जनाको मृत्यु भएको हो।

वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बिहान ६ बजे बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार उनी ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए।

त्यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहानै ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ।आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।त्यस्तै पोखराकी ३२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कोरोना संक्रमणपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड-१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रष्ठिानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो।

पोखरा महानगरपालिका-११ निवासी ती महिला कोरोना संक्रमण पुष्टि भएपछि यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी थिइन्।

त्यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिनुभयो।

आज मृत्यु भएका चारसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय ७९ पुगेको छ।