विश्व बैंकबाट थप सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं,असोज,५-अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोग आवश्यक भएको बताउनु भएको छ ।

सोमवार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदै आएको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।

‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरीदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।’

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानतरर्फ अहाडी बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ,’ उहाँले भन्नुभयो ।

नेपालमा गरीबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गदै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरीबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उनले आउँदो विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो।

भेटमा बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गर्नुभयो । उहाँले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैंकको प्रतिनिधिमण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो । भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको थियो ।