आज कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा वडा अधिवेशन

काठमाण्डौं,असोज,५- नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत आज (मंगलबार) काठमाडौंसहित सात जिल्लामा वडा अधिवेशन गर्दै छ। 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, मोरङ, बर्दिया र बाजुरामा वडा अधिवेशन गर्न लागिएको हो।

गत १८ देखि जारी वडा अधिवशेन यसअघि कांग्रेसले ५७ जिल्लामा सकाएको छ।क्रियाशील सदस्यताको सूची बनाउन ढिला भएका काठमाडौंसहित उल्लिखित थप ७ जिल्लामा आज असोज ५ गते वडा अधिवशेन गर्न लागिएको हो। 

यसपछि पनि १३ जिल्लामा कांग्रेसले वडा अधिवेशन गर्न बाँकी रहनेछ। प्रदेश नम्बर २ का सबै (८) जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेत र रोल्पामा क्रियाशील सदस्यताको विषय नटुंगिएकाले वडा अधिवेशन हुन नसकेको हो। 

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९-१३ गते काठमाडौंमा गरिँदै छ।