काठमाडौं,बैशाख,१२-३६४ दिन नेता र राजनीतिक दललाई धारेहात लगाए पनि चुनावी प्रक्रियामा भने नेपाली जनताको सक्रियता उत्साहजनक देखिने गरेको छ ।
सुगम शहरी इलाका मात्र होइन, अत्यन्त दुर्गम ठाउँमा पनि मतदाताको उत्साह र जोश हेर्नलायक हुन्छ । स्थानीय निकायका उम्मेदवार मनोनयन क्रममा देखिएको बाक्लो उपस्थितिलाई त्यसैको पछिल्लो कडी मान्न सकिन्छ ।
वैशाखको खपिनसक्नु चर्को घाम तर अहँ कसैलाई परवाह छैन । आफ्ना उम्मेदवारको समर्थन र नाराजुलुसमा घरलौरी मानिस जुटेका छन् । मानौं चुनाव भनेको असारे रोपाइँभन्दा महत्वपूर्ण हो । कतै पञ्चेबाजाको कर्तल ध्वनि सुनिन्छ त कतै जिन्दावादको नारा ।
कतै सांस्कृतिक पहिरन त कतै धामीको ढयाङ्ग्रो बजाएर अनौठो उत्सव । दलका झण्डाको साम्राज्य उतिक्कै छ । अझ चुनावमा उम्मेदवार हुन खोज्नेको प्रतिस्पर्धा थेगिनसक्नु छ ।
निर्वाचन आयोगले उम्मेदवारको मनोनयनका लागि दुई दिन तोके पनि अन्तिम अवस्थामा मात्र निर्णय गर्ने नेताहरूको चरित्र यो खेप पनि दोहोरियो ।
चुनावमा कस्को पल्ला भारी होला ? को विजयी हुने हुन् ? को माथि घात, अन्तर्घात, प्रतिघात होला ? चुनिएका जनप्रतिनिधि मतदाताप्रति कति इमान्दार हुने हुन् ? मतको बिक्रीदर के होला, त्यसको हिसावकिताव पछि होला । त्यसैपनि चुनावलाई लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ ।
जतिसुकै प्रतिकूल अवस्थामा घोषणा गरिएका चुनावमा पनि मतदाताको उत्साजनक उपस्थितिलाई नेपाली जनताको चेतनास्तर उच्च रहेको रूपमा मूल्याङ्कन गर्ने गरिन्छ ।
स्थानीय निकाय निर्वाचनमा स्वतन्त्र, सानाभन्दा साना दल, गठबन्धन होस् या मूलप्रवाहमा रहेका ठूला दलको एकल उम्मेदवारी घोषणा सबै–सबै मञ्चमा उम्मेदवारका समर्थकको ओइरो लागेको देखिन्छ ।
राजनीतिशास्त्रले भन्छ– जनता गलत हुँदैनन् । तर, मतदानका दिन विवेक नपु¥याउँदा बाँकी दिन पछुताउने घडीप्रति सचेत रहने शुभसाइत यिनै दिन हुन् । बाहिर चुनाव सामान्य देखिए पनि जनताले तिरेको करबाट अरबौं रुपियाँ ओछ्याएर चुनाव गरिन्छ ।
पेट काटेर गरिने चुनाव जनताको भाग्य फैसलासँग जोडिनुपर्छ । हैन भने आफूले मतदान गरेका उम्मेदवारविरुद्ध कटाक्ष गर्ने नियतिको अन्त्य कहिल्यै नहुने निश्चित छ ।ईमेजखबरबाट