विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा खरीद गरे ट्वीटर

Image Not Foundकाठमाडौं,बैशाख,१३-विश्वका धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका छन् ।

अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत रहेका उनले विभिन्न चर्चा /परिचर्चा बीच अन्तत : ४४ बिलियन डलरमा उक्त कम्पनी खरीद गरेका हुन् ।

उनले हालैमात्र अमेरिकी शेयर नियामक सेकमा बुझाएको एउटा फाइलिङमा कम्पनीमा आफ्नो स्वामित्वबाहेकको शेयरका लागि प्रतिकित्ता ५४ डलर २० सेन्ट नगद दिने प्रस्ताव गरेका थिए ।  यो भनेको करीब ४३ अर्ब(बिलियन) डलर हो ।

उनले उक्त कम्पनीको शेयर प्रतिकित्ता ५४ दशमलव २० डलरका दरले किनेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

उनले केही दिन अगाडि मात्र ट्वीटरको नौ प्रतिशत शेयर खरीद गरेका थिए । त्यसको लगत्तै उनले कम्पनीको सबै शेयर खरीद गरेका हुन् । टेस्ला तथा स्पेसएक्सका मालिकसमेत रहेका उनले यसअघि ट्वीटरको पुरै स्वामित्व किन्ने प्रस्ताव राखेपछि चौतर्फी चर्चाको विषय बनेको थियो ।

कम्पनीको स्वतन्त्र सञ्चालक समितिका अध्यक्ष ब्रेट टेलरले बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आकलन गरे अनुसार नै उक्त सम्झौता भएको बताएका छन् ।

ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीलाई हाम्रो टिममा गर्व छ ।’ 

उता मस्कले भने ट्वीटर खरीद गरेपछि दिएको पहिलो प्रतिक्रियामा वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्वीटरमा जबरजस्त क्षमता छ ।’

ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने पनि बताएका छन् ।

उनी ट्वीटरलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि एक विश्वसनीय प्लेटफर्मका रूपमा स्थापित गर्न चाहन्छन् ।  ट्विटरका सक्रिय प्रयोगकर्ता समेत रहेका उनी यसका कटु आलोचक पनि हुन् । 

उनले  अप्रिल ४ मा आफू ट्विटरको सबैभन्दा ठूलो व्यक्तिगत लगानीकर्ता हुँ भनेर खुलासा गरेपछि त्यसयता कम्पनीको शेयरमूल्य बढेको छ ।एजेन्सीहरु