स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

पहिलो कप्तानीमै मेसीले दिलाए उपाधी

एजेन्सी साउन,२८-

बार्सिलोनाले स्पेनिस सुपर कप २०१८ को उपाधि जितेको छ । आइतबार राति मोरोक्कोमा भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । यस सिजनका लागि कप्तान तोकिएका मेसीले पहिलो खेलमा नै बार्सिलोनालाई उपाधि दिलाएका हुन् । 

खेलको ९ मिनेटमा पाब्लो साराबियाको गोलबाट सेभिल्लाले अग्रता बनाएको थियो । सुरुमा उनको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता नदिए पनि भीआरमार्फत  चेक गर्दा गोलको मान्यता पाएको थियो ।  

बार्सिलोनाका लागि खेलको ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल गरे । ७८ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता बनायो । 

८९ औं मिनेटमा सेभिल्लाले पेनाल्टी पाई बराबरी गर्ने अवसर पाएको भए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । सेभिल्लाका बेल यडरले हानेको पेनाल्टी बार्सिलोनाका गोलकिपर स्टेगेनले बचाई बार्सिलानाको जित पक्का गरिदिए । 

स्पेनिस सुपर कप स्पेनको घरेलु लिग ला लिगा र कोपा डेल रेको विजेताबीच हुने प्रतिस्पर्धा हो । दुबै उपाधि एउटैले जितेको खण्डमा कोपा डेल रेको  उपविजेता र ला लिगाको विजेता बीच प्रतिस्पर्धा हुने गर्छ।  

यो स्पेनिस सुपर कप टाइटलको ३२ औं संस्करण हो । ३२ मध्ये बार्सिलोनाले सबैभन्दा बढी १३ पटक उपाधि जितेको छ । रियल मड्रिडले १० पटक र बाँकी अन्यले जितेका छन् ।