ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने

काठमाण्डौं,फाल्गुन,१२-प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बोलाउनु भएको छ।पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।

‘संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले भन्नुभयो, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ।

सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि नेकपाको दाहाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।‘अलिकति लाजघिन छ भने केपी ओलीले अब प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ’, प्रचण्डले मंगलबार साँझ चितवनमा पत्रकारसँग भन्नुभयो, ‘होइन अझै उहाँ राजीनामा नदिई बस्नुहुन्छ भने इतिहासको कुडाकर्कटमा उहाँ यसरी मिल्काइनुहुनेछ, त्यो उहाँले समेत पत्तो पाउनुहुन्न।’

प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई हटाउने संकेत प्रचण्ड-नेपाल समूहले गरेको छ। यो समूहले पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो।