एमाले अध्यक्ष ओली आज थाइल्यान्ड जादै

पार्टी एकताको कार्यदललाई ओली र प्रचण्डले आजै निर्देशन दिने

काठमाण्डौं,पुस,२६-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्ड जान लाग्नु भएको छ । आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट ओली बैंकक जान लागेको जानकारी उहाँको सचिवालयले दिएको छ ।

मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, ओली स्वास्थ्य परीक्षण सकाएर माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसैविच : एकता संयोजन समितिले मंगलबार गठन गरेको कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिने भएका छन् ।

बालकोटस्थित ओली निवासमा हिजो बसेको एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकार गठनका लागि कार्यदल गठन गरेको थियो।

कार्यदललमा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वांग, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’,बर्षमान पुन र मातृका यादव सदस्य छन्। मंगलबार गठित कार्यदलका सदस्यहरुलाई दुबै अध्यक्षले आज निर्देशन दिन लागेका हुन् ।