रवि लामिछाने सहित तीनै जना रिहा : फैसला नहुन्जेल कार्यक्रम सन्चालन गर्न रोक

विदेश जानुपरेमा अदालतको अनुमति लिनुपर्ने

चितवन,भदौ,९-

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछाने सहित तीनै जना सोमबार रिहा भएका छन्  ।लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको हो ।

कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।आदेशलगत्तै लामिछाने र कँडेलले धरौटी तिरेर रिहा भएका छन् । कार्की पनि रिहा भएकी छन् ।

अदालतले मुद्दाको फैसला नहुन्जेल घटनासँग सम्बन्धित कार्यक्रम सन्चालन गर्न लामिछानेलाई रोक लगाएको छ । उनीहरुले विदेश जानुपरेमा अदालतको अनुमति लिनुपर्नेछ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसकाक्रममा ८ जना वकिलहरुले बहस गरेका थिए ।

सरकारी वकिलका तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायतले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

अदालतले लामिछानेसहित तीनैजनासँग आइतबार र सोमबर गरी दुई दिन लगाएर बयान लिएको थियो । आत्महत्या प्रकरणमा लामिछानेसहित तीनैजनालाई गएको साउन ३१ गते काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएको थियो ।

रिहा भए लगत्तै रवि लामिछानेल संक्षिप्त प्रतिक्रिया दिँदै आफूप्रति सहानुभूति जनाउने सबैलाई धन्यवाद दिएका छन् ।

अपडेट……