ओखलढुंगाका सन्तोषको हत्यामा संलग्न भएको आरोपमा बाँकेमा सञ्जिव थापा पक्राउ

ओखलढुंगा,भदौ,१३-
ओखलढुंगाका सन्तोष कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङका सञ्जिव थापा पक्राउ परेका छन् । कार्की हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जित थापा पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बाँकेको कोहलपुर बाट पक्राउ गरेको हो । वैदेशिक रोजगारका सिलसिलामा दुबै बस्दै आएका थापाले आफ्नी श्रीमतीसँगको लसपसका कारण कार्कीको हत्या गर्नुपरेको प्रहरीको प्रारम्भिक बयानमा बताएका छन् ।

उनी केही दिन अघि मात्र दुबैबाट नेपाल आएको बताइएको छ । थापाले केही दिन अघि सामाजिक सञ्जालमा सन्तोषको हत्या आफुले गरेको स्वीकार गर्दै स्टाटस राखेका थिए । भदौ पाँच गते ओखलढुंगाको मोलुङ गाउँपालिका–३ हर्कपुरका २७ वर्षिय सन्तोष कार्कीको आफ्नै घरमा हत्या भएको थियो ।