एमसीसी आयोजना आजदेखि कार्यान्वयनमा जाँदै

काठमाडौं,भदौ,१३-अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ।

एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ। परियोजनाको शुभराम्भ गर्न एमसीसी उपाध्यक्ष क्यामरन एलफोर्ड हिजै नेपाल आईसक्नु भएको छ।अर्थमन्त्री प्रकाशशरण महत र एल्फोर्डले आज दिउँसो सिंहदरबारबाट संयुक्त रुपमा परियोजनाको उद्घाटन गर्ने तयारी छ।

एमसीसी परियोजना अन्तर्गत नुवाकोटको रातमाटेदेखि दमौली हुदै बुटवल र रातमाटेबाटै हेटौंडासम्म ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गरिने छ भने रातमाटे, दमौली र नवलपरासीको बर्दघाटमा चार केभी क्षमताका तीन वटा विद्युत सवस्टेशन पनि निर्माण गरिने छ।यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्म ७७ किलोमिटर सडकको स्तरोन्नती गरिने छ।

आजको मितिलाई सम्झौता कार्यान्वयनमा गएको मानेर ५ वर्ष अर्थात २०८५ भदौ १३ भित्र यी काम सम्पन्न गरिसक्नुपर्ने छ।यी आयोजनाका लागि अमेरिकाले एमसीसी मार्फत ५० करोड डलर उपलब्ध गराउने छ भने नेपाल सरकारले करीब १९ करोड ७० लाख डलर लगानी गर्ने छ।

अमेरिकाले नेपालमा एमसीसी परियोजना कार्यान्वयनमा जान लागेकोमा खुशी ब्यक्त गरेको छ।आयोजना कार्यान्वयनका लागि नुवाकोट, दमौली र बुटवलमा सरकारले जग्गा उपलब्ध गराएको छ भने अन्यत्र जग्गा प्राप्ती तथा रुख कटानको काम बाँकी नै छ। २०७४ भदौ २९ मा नेपालको अर्थ मन्त्रालय र एमसीसीका प्रतिनिधिबीच वासिङ्टनमा एमसीसी सम्झौता भएको थियो।