
काठमाडौं,भदौ,९-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ।
शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।
देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने उहाँको भनाई थियो।
अध्यक्ष ओलीले एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको पनि बताउनुभयो।उहाँले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाउनुभयो।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारण कोशी प्रदेश सरकार आफैँ संकटमा परिरहेको जिकिर गर्नुभयो।