स्वतन्त्र पत्रकारहरुको छाता संगठन पाल्पामा पनि गठन

पाल्पा,पुस ५-स्वतन्त्र पत्रकारहरूको छाता संगठन स्वतन्त्र पत्रकार संघ पाल्पाको गठन भएको छ । जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको पहिलो भेलाले भोजराज भट्टराईको संयोजक रहने गरी ११ सदस्यीय स्वतन्त्र पत्रकार संघ नेपालको, पाल्पा जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरूमा रामचन्द्र रायमाझी, दामोदर नेपाल, नवराज ज्ञवाली, प्रकाश न्यौपाने, अम्बिका पाण्डे, नवराज बस्याल, डेभिड पाण्डे, रामराज ज्ञवाली, विष्णु पाण्डे, सुमन सिंजाली रहेका छन् ।

यसैबीच तदर्थ समितिको पहिलो बैठक बसी पुस १६ संघको पहिलो जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन तयारीको लागि कार्यविभाजन समेत गरेको छ । बैठकमा जिल्लामा क्रियाशील स्वतन्त्र आस्थाका पत्रकारहरूलाई सदस्यता वितरण, बैंकिङ प्रणालीबाट कारोबार सञ्चालन, कार्यालय व्यवस्थापन लगायतका कार्यक्रमका साथ संघको जिल्ला शाखालाई सशक्त रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ ।