भरतपुर-१९ को मतदान शुक्रबार हुने :आजदेखि मौन अवधि सुरु

काठमाडौं, साउन,१८-

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको नयाँ मिति निर्धारण भएसँगै आज बिहान ७ बजेबाट मौन अवधि सुरु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अव आजदेखि प्रचार प्रसार गर्न पाइनेछैन । निर्वाचन मिति तय भएलगत्तै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाउने, सुरक्षा ब्यवस्था चुस्तदुरुस्त बनाउने, आवश्यक ब्यालेट–मतपत्रको ब्यवस्था गर्ने लगायतको तयारी सुरु गरेको छ ।

आजैदेखि मतदान केन्द्रमा मतपेटिका पठाउने र कर्मचारी खटाइने चितवनका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताउनुभयो । मतगणना निरन्तरताको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउनुअघि नै दलहरुले चुनावी प्रचारप्रसार गर्दै आएका थिए ।

अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्नुपर्ने निर्वाचन आयोगले दिएको निर्णयलाई सदर गर्दै आइतबार फैसला गरेको थियो । आयोले १९ नम्बरको मतदान सकिएपछि गन्न बांकी २० नम्बर वडाको समेत एक साथ मत गणना सुरु गर्ने जनाएको छ ।