आजदेखि विश्व स्तनपान सप्ताह सुरु

‘सबै मिली स्तनपानलाई दिगो बनाऔ’ भन्ने नारा

इन्द्र कार्की
महेन्द्रनगर,साउन,१७  प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म मनाइने विश्व स्तनपान दिवस तथा सप्ताह आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइएको छ । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔ’ भन्ने नारा सहित सरकारले आजदेखि २५ औं विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ । आज वाट सुरु भएको स्तनपान सप्ताह साउन २३ गते सम्म विभिन्न कार्यक्रमहरु गरि मनाइने छ । सप्ताह अन्तर्गत जिल्ला तथा स्थानीय स्तरमा स्तनपान सम्वन्धी विभिन्न चेतना मुलक कार्यक्रम गरिने स्वास्थ्य विभागले जनाएको छ । नेपालका ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । सन् २०१६ को सरकारी तथ्यांक अनुसार ६६ प्रतिशत महिलाले मात्र सन्तानलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको पाइएको छ । स्तनपानको सम्बद्र्धनका लागि ऐन ल्याइएपनि कार्यान्वयन हुन नसक्दा स्तनपान गराउने क्रम घट्दै गएको छ ।
        स्तनपान बच्चालाई खाना खुवाउने जैविक पद्दति हो। बच्चालाई जन्मेदेखि ६ महिनासम्म स्तनपान मात्र गराउनाले पनि बच्चाको सम्पूर्ण पोषण माग पूरा हुन्छ। ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भए पनि अझै ४४ प्रतिशत नेपाली बच्चामा यसको बानी नभएको हालै गरिएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ। त्यसैगरी, ६ महिनामुनिका बच्चामा बोतलको दूध खुवाउने प्रवृत्ति पनि बढेको छ, जुन विगत १ दशकमा ४ प्रतिशत देखि बढेर ९ प्रतिशत सम्म पुगेको पाइन्छ । यस प्रवृतिलाई घटाउन निकै चुनौति पुर्ण रहेको छ ।
      उचित परामर्श स्तनपानलाई प्रोत्साहन गर्ने अर्को महत्वपूर्ण पक्ष हो। अझै पनि धेरै स्वास्थ्यकर्मीमा उचित परामर्श गर्ने शैली विकाश भएको छैन। अस्पतालहरुमा नवजात बच्चाका आमालाई परामर्श दिन नचाहने वा उचित परामर्श नदिने चलनले स्तनपानको महत्व र स्तनपान सम्बन्धी आवसश्यक ज्ञानको कमी भएको देखिन्छ। अपर्याप्त स्तनपानले बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुग्नुका साथै आमाको स्वास्थ्यमा पनि नकारात्मक असर पुग्छ। त्यसैले सुत्केरी आमाहरुले कम्तिमा ६ महिना र त्यसपछि पनि २ वर्षसम्म बच्चालाई स्तनपान गराउनुपर्छ। स्तनपानका फाइदाहरु यसप्रकार उल्लेख गर्न सकिन्छ ः

बच्चालाई हुने फाइदा
१.स्तनपान बच्चाका लागि अमृत समान हुन्छ। आमाको दूधमा बच्चालाई चाहिने भिटामिन, खनिज पदार्थ, प्रोटिन, चिल्लो पदार्थहरु आवस्यक मात्रामा हुन्छ। जसले गर्दा बच्चा आवस्यक पोषण पाएर कम तौल, पुड्को र ख्याउटे हुनबाट जोगिन्छ।

२.आमाको दूधले बच्चाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ।

३.स्तनपानले झाडापखाला तथा निमोनियाबाट बच्चालाई जोगाउँछ। यी दुवै रोग विश्वमा बालमृत्युदरको पहिलो दुई कारणमध्ये पर्छन्।

४.स्तनपानको माध्यमबाट बच्चालाई दूध पर्याप्त भएको छ–छैन सजिलै थाहा पाउन सकिन्छ।

५.पर्याप्त स्तनपान गरेका बच्चालाई ठूलो भएर मधुमेह, मोटोपनाजस्ता रोग लाग्ने सम्भावना कम्ति हुन्छ।

६.आमासँगको आत्मीयता बढाउँछ।

७.स्तनपानले बच्चाको दिमाग तेज हुने विभिन्न अनुसन्धानले देखाएको छ।

आमालाई हुने फाइदा
१.सुत्केरी अवस्थामा बढेको तौल घटाउन मद्दत गर्छ।

२.पहिलो ६ महिनासम्म आमाको गर्भ रहन दिँदैन अर्थात् प्राकृतिक गर्भनिरोधकको काम गर्छ।

३.पाठेघरलाई खुम्च्याएर रक्तश्राव हुनबाट जोगाउँछ। तसर्थ, रक्ताल्पता हुनबाट बचाउँछ।

४.पिसाबको संक्रमण हुनबाट बचाउँछ।

५.विभिन्न हर्मोनको उत्पादन गरेर मानसिक तनाव हुनबाट बचाउँछ।

६.बच्चासँगको आत्मीयतालाई बलियो बनाउँछ।

७.विभिन्न प्रकारका क्यान्सरका साथै मधुमेह, मुटुरोग, हड्डी खिइने जस्ता स्वास्थ्य समस्याबाट जोगाउँछ।