महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव

मन्त्रीको आश्वासन नै लागु भएन

होम योगी,

महेन्द्रनगर,जेठ,३०-

महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव रहेको सुनेर महेन्द्रनगर पुगेका तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालमा तत्काल विशेषज्ञ डाक्टर पठाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन उनको कार्यकालमा पूरा हुन सकेनन् । सरकार फेरिएसँगै स्वास्थ्यमन्त्री गगन थापा मन्त्रालयको जिम्मेवारीबाट मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री गगन थापाले आश्वासन कार्यान्वयन गराउन नसकेको अवस्थामा गत माघ महिनामा महाराजगञ्ज चिकित्सा क्याम्पसले समेत महाकाली अञ्चल अस्पतालमा डाक्टर पठाउने सम्झौता नै गर्‍यो । भर्खरै पढाइ सकेका विशेषज्ञ डाक्टरलाई २०७४ बैशाखसम्म महाकाली अञ्चल अस्पतालमा पठाउने सम्झौता क्याम्पसले गरेको थियो ।

तर, त्यो सम्झौता समेत कागजमै सीमित भएको छ । बैशाखमा आउने भनिएका डाक्टर जेठ महिना सकिन लाग्दासम्म आइपुगेका छैनन् ।क्याम्पसले ४ महिनाअघि नै महाकाली अञ्चल अस्पतालमा ‘रेसिडेन्ट डाक्टर’ पठाउने भनेपनि अझैं सम्झौता कार्यान्वयन गरेको छैन ।

महाराजगञ्ज चिकित्सा क्याम्पसले ६ विषयका ‘विशेषज्ञ रेसिडेन्ट डाक्टर’ महाकाली अञ्चल अस्पतालमा पठाउने सम्झौता भएपनि सम्झौता कार्यान्वयन नगरिएको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताए ।

‘एउटै समयमा सम्झौता भएको राप्ती अञ्चल अस्पतालमा महाराजगञ्ज चिकित्सा क्याम्पसको रेसिडेन्ट्स डाक्टरको सेवा सुरु भइसकेको छ,’ उनले भने, ‘महाकालीमा अझैं पठाइएको छैन ।’

स्वास्थ्य मन्त्रालय र महाराजगञ्ज चिकित्सा क्याम्पसबीच गत माघ २८ गते महाकाली अस्पतालमा डाक्टर पठाउने सहमति भएको थियो । सम्झौताअनुसार बैशाख १ गतेबाट सेवा सुरु हुनुपर्ने हो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको चिकित्सा विभागमा जानकारी लिँदा ३–४ दिनमा डाक्टर पठाउने बताएपनि अहिलेसम्म नपठाएको उनले बताए ।

महाराजगञ्ज चिकित्सा क्याम्पसले कसलाई पठाउने भन्नेबारे टुंगो लगाउन नसकेकाले ढिलाइ भएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा. भोला श्रेष्ठले बताए । ‘महाराजगञ्ज चिकित्सा क्याम्पसका चिपलाई फोन गरेर चाँडो व्यवस्थापन गर्न भनेको छु । चाँडै डाक्टर पठाइने छ,’ श्रेष्ठले भने ।

सम्झौता अनुसार महाराजगञ्ज चिकित्सा क्याम्पसले महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, राप्ती अञ्चल अस्पताल तुलसीपुर र सगरमाथा अञ्चल अस्पतालमा बैशाख १ गते ६ विषयका विशेषज्ञ रेसिडेन्ट डाक्टरको टोली खटाइसक्नुपर्ने थियो ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा विशेषज्ञ रेसिडेन्ट डाक्टर पठाइसकेको महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुख रोहित पोखरेलले बताए । ‘स्थानीय तहको निर्वाचन र नयाँ व्याजका विद्यार्थी भर्ना नभएकाले ढिलाइ भएको हो । अब चाँडै नै डाक्टर पठाउँछौं,’ उनले भने । क्याम्पस प्रमुख पोखरेलका अनुसार डाक्टर पठाउने विषयमा छलफल भैइरहेकोले चाडै पठाइने छ ।

सम्झौताअनुसार महाकाली अञ्चल अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जरी, बालरोग, बेहोस गर्ने विशेषज्ञ, जनरल प्राक्टिस लगायतका विशेज्ञको टोली पठाइने चिकित्सा महाशाखा प्रमुख श्रेष्ठले बताए । उनका अनुसार सरकारले अस्पताललाई शैक्षिक संस्थाका रुपमा विकास गर्न लागेको कार्यक्रमलाई प्रभावकारी रुपमा व्यवस्थित गर्ने उद्देश्यले विशेषज्ञ डाक्टर पठाइन लागिएको हो ।

‘ती डाक्टरले अनुसन्धान गर्ने, शिक्षण गर्ने उपचार गर्न आएका बिरामीलाई आफूसँग भएको ज्ञान, सीप आदानप्रदान गर्ने अस्पतालको व्यवस्थापन गर्न सिकाइने, रोगबारे अनुसन्धान गर्ने लगायतका काम गर्ने छन्,’ उनले भने ।व्यर्थै घरभाडाको खर्च महाराजगञ्ज क्याम्पसले डाक्टर पठाउने भनेपछि महाकाली अञ्चल अस्पतालले बैशाखमा नै घर भाडामा लिइसकेको छ ।

तर, अहिलेसम्म डाक्टर नपठाउँदा व्यर्थैमा भाडा भुक्तानी गर्नुपरेको अस्पतालका अध्यक्ष बोहराले बताए । ‘चिकित्सा विभागले ‘डाक्टर पठाउँछु’ भनेपछि घर भाडामा लिइयो । तर अझै पठाइएको छैन,’ अध्यक्ष बोहराले भने, ‘मासिक २५ हजार भाडा तिर्नुपरेको छ ।’ जेठ महिनाको सुरुमा नै महिनाको २५ हजार रुपैयाँ भाडा दिने गरी ७ कोठाको घर भाडामा लिइएको अध्यक्ष बोहराले बताए ।