कञ्चनपुरको हिरासतमा रहेका कञ्चन र पूजा प्रहरीको विशेष निगरानिमा

होम योगी,

महेन्द्रनगर, जेठ,३०-

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कञ्चन नाथ र पूजा नाथलाई प्रहरीले विशेष निगरानिमा राखेको छ । आज पनि उनीहरुलाई कसैसँग भेट्न दिइएको छैन । उनीहरुलाई कानुन व्यवसायी राख्ने अधिकारबाट समेत बञ्चित गरिएको छ ।

माथिको आदेश भन्दै कसैलाई पनि उनिहरुलाई भेट्न दिइएको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी प्रकाश चन्दले कञ्चन नाथ र पूजा नाथलाई भेट्न नदिनु आदेश दिएको जिल्ला प्रहरी कार्यालयमा रहेको नागरिक सहायता कक्षमा तैनाथ एक प्रहरीले बताए ।

उनीहरुलाई पक्राउ परेको दिनदेखि कसैलाई पनि भेट्न दिइएको छैन ।आइतबार केही पत्रकारहरुसँग केही मिनेट भेटाइए पनि उनीहरुलाई पूरा बोल्न दिइएको थिएन ।यसबारे एसपी चन्दसँग जानकारी लिन खोज्दा उनले यसबारे प्रतिक्रियया दिन चाहेनन् । ‘तपाई बढ्ता नहुनुस् है’ भन्दै फोन काटिदिए ।

कञ्चन नाथ र पूजा नाथलाई आफन्तसँग समेत भेट्न नदिएको बारे डिएसपी भीमप्रसाद दहालले भने, ‘थुनुवालाई भेट्न दिइउको छ ।’ तर उनले अहिलेसम्म क–कसलाई भेट्न दिइयो भन्ने प्रश्नको उत्तरमा ‘थाहा छैन’ भने । मानसखण्डले पूजा र कञ्चनसँग भेट्न गरेको आग्रहमा डीएसपी दाहालले पहिले एक पटक भेट्न दिइएको भन्दै आफू मिटिङमा भएको बताउदै फोन काटे ।

प्रहरीले कञ्चन र पूजा नाथलाई अपहरण शैलीमा प्रक्राउ गरी हिरासतमा राखेको तीन दिन बित्दा समेत स्थानीय मानवअधिकारकर्मी र महिला अधिकारवादीको ध्यानाकर्षण भएको छैन । महिला अधिकारकर्मी भनेर चिनिएकी शारदा चन्दले आफू जिल्ला बाहिर भएकोले घटनाबारे थाहा नभएको बताइन् ।

राष्ट्रिय मानव अधिकारले पनि यसबारे चासो देखाएको छैन । तर राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका निर्देशक दिपक जंङ्ग ध्वज कार्काीले घट्ना बारे आयोगले बुझिरहेको बताएका छन् । उनले भने, ‘हिजो एसपी चन्दसँग फोनमा कुरा गरेका थियौं ।’ अब केही दिनमा स्थलगत नै गई जानकारी लिने कार्कीले बताए ।