भारतमा आजदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

फाईल तस्विर !!

काठमाडौं,माघ,३-भारतले शनिबार (आज)देखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ ।

खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

भारतले पहिलो प्राथमिकतामा रहेका ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ ।

भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताउनुभयो ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेको बीबीसीले उल्लेख गरेको छ ।

अभियानका लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ ।

भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ।अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिन भित्र दुई डोज खोप लिनुपर्ने जनाएको छ ।खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन् ।

‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ । (एजेन्सी)