मोदीले समय नदिएपछि नभेटी फर्के परराष्ट्रमन्त्री ज्ञवाली

फाईल तस्विर !!

काठमाडौं,माघ,३-नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कनुभएको छ ।

मन्त्री ज्ञवाली स्वदेश फर्कनुअघिसम्म प्रधानमन्त्री मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत हुनुहुन्थ्यो । तर, मोदीले समय नदिएपछि भेट सम्भव नभएको हो । पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतिय प्रधानमन्त्रीले भेट गर्ने समय नदिएपछि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले कुन रूपमा लिएको छ भन्ने स्पष्ट हुन सकेन । मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गर्नुभएको थियो ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपाललाई आवश्यक कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी दिनुभयो ।

सन् १९५० को सुगौली सन्धीको पुनरावलोकन, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन, सीमासम्बन्धी कार्यहरू टुंग्याउनेलगायतका विषयमा गहन छलफल भइ सकारात्मक निष्कर्ष निकालेको पनि उहाँले बताउनुभयो । त्यस्तै, कोभिडका कारण बन्द भएका हवाई तथा स्थलमार्गहरु क्रमश खोल्दै जाने सहमति पनि भएको छ ।

रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण निरन्तर जारी राख्ने तथा जयनगर–कुर्था रेल चाँडै सञ्चालनमा ल्याउने दुई देशका अधिकारीहरुबीच सहमति भएको छ ।पारवहन तथा रेलसम्बन्धी सम्झौता पुनरावलोकनको सहमति पनि भ्रमणका क्रममा भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

बैठकले राजनीतिक सुरक्षा तथा सीमा कनेक्टिभिटी, पूर्वाधार एवम् आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतयाः पाँचवटा समूहअन्तर्गत आपसी सहयोगका विविध पक्षहरूमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने सहमति गरेको उहाँले जानकारी दिनुभयो ।