बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

फाईल तस्विर !!

काठमाण्डौं,बैशाख,५-स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ।शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो ।

सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान एक-एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा १२ मिनेटभित्र बार्सिलोनाले चार गोल गरेको थियो । ६०औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

त्यसको तीन मिनेट नबित्दै डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ६८औँ मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३-० गोलले अगाडि बढ्यो । त्यसको चार मिनेट नबित्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० गोलको जित दिलाए ।

यससँगै बार्सिलोनाले सर्वाधिक धेरै ३१ पटक कोपा डेल रेको उपाधि जितेको छ । यस्तै, बार्सिलोनाले एथ्लेटिकसँग ब्यहोरेको हारको बदला लिएको छ । यसअघि बार्सिलोना र एथ्लेटिकले सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिकले बार्सिलोनालाई ३-२ गोलले हराउँदै उपाधि उचालेको थियो ।

बिल्बाओले लेभान्टेमाथि समग्रमा ३-२ को जितसहित फाइनलमा स्थान बनाएको थियो । बार्सिलोनाले भने सेभिल्लालाई समग्रमा ३-२ गोलको जित निकाल्दै उपाधि नजिक पुगेको थियो ।