विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

मिन्स्क (बेलारुस),साउन,९-

बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ ।उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ ।

मिन्स्कस्थित लिप्की एअरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधासम्पन्न एरो क्लबमा सुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औं हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदन्डकाबारेमा प्रदर्शन हुने बताइएको छ ।

यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालकदलका सदस्य रहेका छन् ।

आयोजककाअनुसार सो प्रतियोगितामा बेलारुस, पोल्यान्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ ।यसक्रमा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न खालका उडान र सुरक्षित अवतरणजस्ता सीपकाबारेमा प्रतिस्पर्धा हुनेछ ।

यो प्रतिस्पर्धा सकिएपछि यही जुलाई २८ देखि २९ सम्म प्रतिस्पर्धास्वरुप वार्षिक उडान महोत्सव पनि आयोजना गरिएको छ ।यस महोत्सवमा बेलुन र साना उडानको पनि प्रतिस्पर्धा गरिनेछ । यस्तो प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गरेको छ । रासस/एएफपी