नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा निर्वाचन हुदै

संसद अबरुद्ध खुलाउन दलहरूबीच अनौपचारिक छलफल

काठमाडौ,जेठ,२१-

व्यवस्थापिका संसदमा आज मुलुकको ४० औं प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालीका अनुसार आज ११ बजे संसद्मा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्री पदकालागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको एकल उम्मेदवारी परेको छ ।

विपक्षी दल एमालेको अवरोध कार्यक्रम घोषणाअनुसार यथावत रह्यो भने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा अवरोध आउन सक्ने छ ।तर, संसद अबरुद्ध खुलाउन दलहरूबीच अनौपचारिक छलफल भईरहेको छ । सहमति जुटेमा देउवा चौथोपटक देशको प्रधानमन्त्री हुनुहुनेछ ।

देउवाको पक्षमा ३११ मत मध्य, कांग्रेस २०७, माओवादी ८२, फोरम लोकतान्त्रिक (संसद्मै रहेका साना दलसँगको पार्टी एकीकरणपछि) १७, नेकपा संयुक्त ३, समाजवादी जनता पार्टी १, अखण्ड नेपाल पार्टी १ छ । विपक्षमा १९८ मत छ ।७२ वर्षीय देउवा पहिलो पटक ०५२ सालमा ४९ बर्षको उमेरमा प्रधानमन्त्री हुनुभएको थियो ।

त्यसपछि उहाँ ०५८ साउन ११ मा दोस्रो र ०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री हुनुभएको थियो ।एउटा मात्रै मनोनयन परे पनि संसद नियमावली २०७३ अनुसार प्रधानमन्त्री निर्वाचनको प्रस्तावलाई सभामुखले संसद बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपर्छ । उम्मेदवारी उपर मत विभाजन गर्दा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट पारित भएपछि मात्रै प्रधानमन्त्री निर्वाचित हुने कानुनी व्यवस्था छ ।नेपालवाणीवाट