प्रादेशिक सरकारको गृहकार्यमा मधेशी दल

काठमाडौं,पुस ४-

प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् ।

चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न दलका नेताहरु आगामी सरकार तथा प्रदेश सभा गठनको विषयमा आपसी परामर्श थालेका छन् ।

प्रदेश २ मा मधेसवादी दलले प्रदेश सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएपछि दलका नेताहरु त्यसका लागि आपसमा गृहकार्य सुरु गरेका छन् । महोत्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर राजधानी फर्किनुभएको छ ।

काठमाडौंँ फर्केलगतै उहाँले केन्द्र तथा प्रदेशमा गठन हुने सरकारको विषयमा परामर्श सुरु गर्नुभएको हो । समानुपातिकको परिणाम सार्वजनिक भएपछि पार्टीबाट समानुपातिक उम्मेदवारको बारेमा पनि उहाँले पार्टीभित्र परामर्श सुरु गर्नुभएको छ ।

जित पछिको विजय उत्सव मनाउन जिल्लामा रहनुभएका दलका नेताहरुलाई राजधानी फर्किन उहाँले खबर पठाउनुभएको छ । आजको गोरखापत्रमा खबर छ ।