गुगलले राख्यो नेपालको नयाँ क्षेत्रफल

काठमाडौं,जेठ,९-गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो ।

यो नेपालको आधीकारीक नयाॅं नक्सा हो ।

गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी थिइन् ।नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।

यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

गत जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्दा पनि भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको थियो ।यसअघि भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएको थियो ।

नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोटसमेत पठाएको थियो । गुगलले देखाएको उक्त क्षेत्रफल विकीपिडियाको हो ।