सन्दिपको किर्तिमान पाँच विकेट, नेपाललाई १७८ रनको लक्ष्य

काठमाण्डौं,माघ,२९-

विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आफ्नो चौंथो खेलमा सन्दिप लामिछानेले लिस्ट ए मा नेपालको तर्फबाट सबैभन्दा राम्रो बलिङ गरेपछि नेपालले केन्यालाई ५० ओभरमा आठ विकेटमा १७८ रनमा रोकेको छ ।

१० ओभर बलिङ गरेका सन्दिपले पाँचवटा मेडन ओभर राख्दै २० रन खर्चेर पाँच विकेट लिएका थिए । यो नेपालको तर्फबाट लिस्ट ए मा किर्तिमान बलिङ हो । यस अघि करण केसीले गत संस्करणको डिभिजन टु मा २६ रन खर्चेर पाँच विकेट लिएका थिए ।

सन्दिप बाहेक शरद भेषवाकर, बसन्त रेग्मि र सोमपाल कामीले एक एक विकेट आफ्नो नाममा लेखाएका थिए ।केन्याको लागि ओपनर इर्फान करिमले सर्वाधिक ४२ रन बनाएका थिए भने एलेक्स ओवान्डाले पनि ४१ रनको योगदान दिएका थिए ।

तीन खेल खेलेको नेपालले दुईमा जित दर्ता गराएको छ भने एक खेलमा हार व्यहोरेको छ । नेपाल चार अंक सहित अंक तालिकाको दोश्रो स्थानमा छ । आजको खेल जित्दै नेपाल अंक तालिकाको दोश्रो स्थानमा मजबुतीका साथ बस्न चाहन्छ ।

आजको खेलमा नेपालले एउटा परिवर्तन गरेको छ । विकेट किपर दिलिप नाथको स्थानमा अनिल कुमार शाहलाई टोलीमा समाबेश गरिएको छ । अनिलको आजको खेल नेपालको तर्फबाट लिस्ट ए मा डेब्यु खेल हो ।

नेपाल प्लेङङ्ग ११ – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मि, सन्दिप लामिछाने, सोमपाल कामी, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, अनिल कुमार शाह ( cricket nepal.com)