विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं,जेठ,१७-आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ।“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित बुधबार यो दिवस मनाउन लागिएको हो ।

सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो।

सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको सभाले उक्त प्रस्ताव पारित गरेपछि मे ३१ लाई विश्व धुम्रपान रहित दिवसको रुपमा मनाउन थालिएको हो।

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।यसैगरि करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्दछन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको छ।

नेपाल धुम्रपान गर्ने राष्ट्रहरुमध्ये २२ औं स्थानमा पर्दछ । सन् २००० सम्म नेपालमा ६४ प्रतिशतले धुम्रपान गर्ने गरेकोमा अहिले उक्त संख्या घटेर लगभग ३० प्रतिशतमा झरेको छ ।