पकेट क्षेत्रमा कृषि सामाग्री हस्तान्तरण

नेपालगञ्ज, जेठ,१२-

नेपालगञ्ज उपमहानगरपालिका वडा न– १८ पकेट क्षेत्र कृषकका लागि कृषि सामाग्री हस्तान्त्रण गरिएको छ । पाकेट विकास कार्यक्रम(प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत १० हेक्टर क्षेत्रफलका लागि कुर्मी धानबाली पकेट विकास सञ्चालक समितिलाई नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाद्धारा कृषि सामाग्री हस्तान्तरण गर्नुका साथै सार्वजनिक कार्यक्रम गरिएको छ ।

आब ०७३,०७४ देखि सञ्चालित कार्यक्रम अन्र्तगत दोस्रो चरणमा कृषि शाखाको दुई लाख र सञ्चालक समितिको ६ लाख ६० हजार गरि खेत खन्ने, धान, गहुँ काटने मेसीन लगायतका कृषि सामाग्री हस्तान्तरण गरिएको हो । लग्दहवामा आयोजित एक समारोहबीच नगर उपप्रमुख उमा थापामगर र वडा अध्यक्ष दिपक कुमार वर्माले पवर टिलर, रिपर, मलखाद्य आदि सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

१२ नयाँ पकेट क्षेत्र समेत गरि नगरमा २२ वटा क्षेत्रमा परियोजना सञ्चालित छ । नगर उपप्रमुख उमा थापामगरले अनुदान प्रविधीको पूर्ण सदुपयोग गर्न आहवान गर्दै आर्थिक रुपमा सशक्तीकरण नहुँदा सम्म विकास सम्भव नभएको बताउनु भयो । वडा अध्यक्ष दिपक कुमार बर्माले कृषि खेतीका लागि पानीको समस्या बढदै गएको भन्दै यसको पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाका प्रमुख जीवन केसीले शाखाको सहयोग र अनुदानको उपादेयता बारे बोल्नु भएको थियो । कार्यक्रममा सहभागी अधिकांस किसानले विद्युत समस्याको सम्वोधनका लागि आग्रह गरेका थिए ।