प्रधानमन्त्री देउवा र ओलीद्वारा प्रचण्ड निवास पुगी समवेदना व्यक्त

प्रचण्ड भोली देखि नै चुनावी सभामा निस्किने

काठमाडौं, मंसिर ४-

प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई घरमै पुगेर भेटी समवेदना व्यक्त गर्नु भएको छ । एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले सीधै दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो ।

दाहाल दम्पतीलाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गर्नु भएको हो ।त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि दाहाललाई भेटी समवेदना व्यक्त गर्नुभयो ।

समवेदना व्यक्त गर्न ओली पत्नीका साथ दाहाल निवास पुग्नु भएको थियो ।आकस्मिक हृदयाघातका कारण प्रकाश दाहालको आइतबार निधन भएको थियो । यसैबीच, अध्यक्ष दाहाल मंगलबार (भोलि)देखि नै चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।

उहाँ भोलि वाम गठबन्धनका तर्फबाट चितवनमा हुने चुनावीसभामा सहभागी हुने उहाँका भाइ नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।७ गते काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम गरेपछि अध्यक्ष दाहाल नियमित चुनावी कार्यक्रममा सहभागी हुने पारिवारिक स्रोतले बताएको छ । 

प्रचण्ड भोलि चितवनमा अायोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् । तर, उहाँले सम्बोधन नगर्ने भएका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।