कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ

दोषी ठहर नभएसम्म महराको सांसद पद नगुम्ने : सेवा सुविधा भने नपाउने

काठमाण्डौं,असोज,१९-

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने जनाइएको छ ।बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास पुगेको थियाे ।

यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर बयान लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको जनाइएको छ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरिएकाे हाे । प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएकी थिइन् । गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ।

यसैबिच : बलात्कारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसदको हैसियत गुमाएका उनले सांसदको हैसियतमा पाउने कुनै पनि सेवा सुविधा प्राप्त गर्ने छैनन्। प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ अनुसार पक्राउसँगै महराले अब सांसदको हैसियतले कुनै कार्य गर्न अधिकार तथा उन्मुक्ति प्राप्त गर्ने छैनन्।

त्यस्तै, उनले पारिश्रमिक समेत पाउने छैनन्। यद्यपी उनको सांसद पदको लोगो भने कायम रहिरहनेछ। अदालतबाट कैद सजाय ठहर भएमा मात्र महरा निलम्बित हुनेछन्।तर यसअघी नेकपाको सचिवालयले उनलाई सभामखुसँगै सांसद पदबाट पनि राजीनामा गर्न सुझाएको थियो।उनले सभामुख पदबाट राजीनामा गरे पनि सांसद पदबाट राजीनामा अझै दिएका छैनन् ।