दशैंमा साढे १२ अर्बको नयाँ नोट साटियो : केरमेट नगर्न, रङ नलगाउन राष्ट्रबैंकको आग्रह

नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने

काठमाडौं,असोज,१९-

नेपाल राष्ट्र बैंकले नोटको प्रयोग गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।नोटमा केरमेट नगर्न, रङ नलगाउन तथा नोटको आकार नबिगार्न बैंकले सर्वसाधारणमा आग्रह गरेको हो ।नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने भन्दै केन्द्रीय बैंकले सचेत पनि गराएको छ ।

यस्तै, नोट झुत्रो वा अक्षर नचिनिने बनाउन नहुने पनि केन्द्रीय बैंकले जनाएको छ ।यस्तो गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवान हुने कानुनी व्यवस्था रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताउनुभयो ।

राष्ट्र बैंकले यो वर्षको बडादसैंमा नयाँ नोट साट्नेहरुलाई जनही १८ हजार ५०० सम्म विभिन्न दरका नयाँ नोट उपलब्ध गराएको थियो ।गत वर्षको दसैंमा राष्ट्र बैंकले १२ अर्बको नयाँ नोट साटेको थियो । यो वर्ष पनि साढे १२ अर्बको नोट सटही भएको बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले सबै राष्ट्रिय चाडपर्वमा नयाँ नोट उपलब्ध गराउने नीतिगत व्यवस्था गरे पनि हाल भने दसैंमा मात्र नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको छ ।