राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना

प्रधानमन्त्री ओलीले विजयादशमीमा टीका लगाई दिने

काठमाण्डौ,असोज,१९-

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९, पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आइतबार बिहान पूजा–अर्चना गरेकी छन् ।उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन् ।साथै, उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएकी थिइन् ।

यसैबिच : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने गरी कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालकाअनुसार यस वर्षको बडादसैंका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

यस्तै, दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ ।