विश्वयुद्धका गोर्खाली सिपाहीको कोसेली: नेपथ्यले सार्वजनिक गर्‍यो ‘नैनताल

नेपथ्यले आफ्नो १०औं एल्मबको अन्तिम गीतको रुपमा ल्याएको हो।

1140x725काठमाडौं,असोज,१४- नेपाली लोक–रक ब्यान्ड नेपथ्यले नयाँ गीत ‘नैनताल’ ल्याएको छ। नेपथ्यले आफ्नो १०औं एल्मबको अन्तिम गीतका रुपमा ‘नैनताल…’ ल्याएको हो।  

नेपथ्यले आफ्नो ‘कान्छो गीत’ ‘नैनताल…’ लाई वीसौं शताब्दीका दुई विश्वयुद्ध लडेर रणमैदानबाट घर फर्किएका गोर्खाली लडाका (सैनिक)हरुको कोसेलीको रुपमा चित्रण गरेको छ। 

प्रथम र द्वितीय विश्वयुद्धताका रणमैदानका अग्र भागमा खटिएका गोर्खाली लडाकाहरु घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा रंगीविरंगी सपनाहरुको संसार बनाउने काम पनि गर्थे। भय र सपना बीचको यो कल्पनाशीलताबाटै लाहुरेहरुले अनगिन्ती गीतहरु जन्माएका थिए। त्यस्ता लडाकाहरु युद्धभूमिबाट फर्किएर आउँदा अनुभव र पैसा बोकेर मात्र आएनन्, एक से एक गीतहरु पनि नेपाली समाजलाई कोसेली ल्याइदिए।

‘नैनताल… नैनताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल… नैनताल’

उल्लेखित पंति नेपथ्यको कान्छो गीत ‘नैनताल’का अंश हुन्। आम प्रचलनमा त्यति नआएको ‘नैनताल’ लाहुरेहरुले भारतको ‘नैनीताल’लाई दिएको नाम हो भने ‘बुलबुले’ भन्नाले कपालको ‘जुल्फी’ बुझिन्छ।

यस गीतलाई नेपथ्यले आफ्नो १०औं एल्बम रेकर्ड गर्दाको क्रममा सन् २०१५ मै रेकर्ड गरिसकेको थियो। यो गीत आधिकारिक रुपमा हालसम्म सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यसलाई प्रस्तुत गर्दै आएको छ। आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवम् अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन्। यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका नेपथ्यले जनाएको छ। यसरी तयार भएको यो गीत पहिलोपटक लण्डन सहरको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो। त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले २०० वर्ष टेकेको अवसर पनि जुरेको थियो।  

‘हाम्रो लोक सँस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन्। 

संगीतकार विक्रम गुरुङका अनुसार यो गीतले विशेष गरेर भारतीय गोर्खा रेजिमेन्टहरुमा उतिबेला निकै लोकप्रियता आर्जन गरेको थियो। लोकप्रिय आधुनिक नेपाली गीतहरुका सर्जक गुरुङ स्वयं पनि गोर्खा परिवारसँग जोडिएका व्यक्ति हुन्।