स्थानीय निर्बाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको छ: मन्त्री बुढाथोकी

पाँचथर, फागुन, १६-सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

पाँचथरको फिदिममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बुढाथोकीले बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको दाबी गर्नुभयो ।

एमालेले स्थानीय तहको निर्वाचन विथोल्न संवैधानिक एजेन्डा नै नबोकेको राप्रपासँग साँठगाँठ गरिरहेको उहाँको भनाइ थियो । मन्त्री बुढाथोकीले संविधान संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाउनुभयो ।

उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै लिएर मुलुकलाई निकाश दिने दाबी गर्नुभयो ।साभार: ईमेज खबरबाट