राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि यस्तो छ अंकगणित

काठमाडौं,बैशाख,२४-आगामी जेठ ६ गतेका लागि तोकिएको बाग्मती प्रदेशमा रिक्त रहेको एउटा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि तीन जनाको उम्मेद्वारी परेको छ ।

सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री समेत रहनुभएका रामबहादुर थापा, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै नेपाल पक्ष र जनता समाजवादी पार्टीको तर्फबाट विपक्षी साझा उम्मेद्वार डा. खिमलाल देवकोटा र नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी दिनुभएको छ ।

मनोनयन दर्तासंगै अंकगणितको लेखाजोखा शुरु भएको छ ।राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

तर सबै मतदाताको मतभार समान हुदैन । प्रदेशसभा सदस्यको प्रति सदस्य ४८ मतभार हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको प्रति सदस्य मतभार १८ गणना हुन्छ ।

वागमती प्रदेशमा एमाले मतभारका आधारमा सबैभन्दा ठूला पार्टी हो । एमालेसँग प्रदेशसभाका ५७ र स्थानीय तहका १ सय ३३ मतदाता छन् ।

अर्थात प्रदेशसभाका ५७ जनाको २ हजार ७ सय ३६ र स्थानीय तहका १ सय ३३ जनाको २ हजार ३ सय ९४ गरी एमालेसंग जम्मा ५ हजार १ सय ३० मतभार रहेको छ ।

कांग्रेससंग प्रदेश सभाका २२ र स्थानीय तहका ६८ मतदाता छन् । अर्थात नेपाली कांग्रेससंग प्रदेशसभातर्फ १ हजार ५६ र स्थानीय तहतर्फ १ हजार २ सय २४ गरी कुल २ हजार २ सय ८० मतभार रहेको छ ।

त्यस्तै, माओवादीसँग प्रदेशसभाका २३ र स्थानीय तहका ३३ मतदाता छन् ।अर्थात उसँग प्रदेशसभातर्फ १ हजार १ सय ४ र स्थानीय तहतर्फ ५ सय ९४ गरी कुल १ हजार ६ सय ९८ मतभार छ ।

यसैगरी, बाग्मती प्रदेशमा विवेकशील साझासँग १ सय ४४, नेपाल मजदूर किसान पार्टीसँग १ सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ सय ३२ र जनता समाजवादी पाटीसंग ६६ मतभार छ ।

एमाले एक्लैको मतभार ५ हजार १ सय ३० हुँदा अरु सबै एकातिर हुँदा पनि विपक्षमा ४ हजार ३ सय २० मतभार हुन्छ ।एमाले एकजुट रहँदा सबै दलको मतभार जोडे पनि एमाले एक्लैको मतभार ५ सय ४६ ले बढी हुन्छ ।

यसरी हेर्दा एमालेका उम्मेद्वारले सहजै चुनाव जित्ने देखिन्छ । तर कांग्रेस, माओवादी र नेपाल पक्षको तर्फका साझा उम्मेद्वार खडा भएकाले एमालेको बहुमत खण्डित हुने देखिन्छ ।

नेपाल पक्षको दावी मान्ने हो भने ५७ जना प्रदेशसभा सदस्यमध्ये २२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुखमध्ये ३८ जना यो पक्षमा खुलेका छन् ।

यो १ हजार ५६ र ६ सय ८४ गरी जम्मा १७ सय ४० मतभार हो ।नेपाल पक्षले विपक्षी गठबन्धबाट उम्मेद्वारी दर्ता गरिसकेकाले एमालेको मतभार ५ हजार १ सय ३० बाट घटेर ३ हजार ३ सय ९० मा झर्नेछ ।

तर, विपक्षी साझा उम्मेद्वारको मतभार ४ हजार भन्दा बढी हुन्छ ।मतदान समयसम्म यही अवस्था रहे बाग्मती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्य निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेद्वारको पल्लाभारी हुने देखिन्छ ।