स्पेनिस ला लिगा: बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड उक्लियो शीर्ष स्थानमा

काठमाडौं,असार,८-बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

३० खेलबाट बार्सिलोना र रियल मड्रिडले समान ६५ अंक जोडे पनि हेड टु हेडका आधारमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएकोे खेलमा बाँकी सबै गोल दोस्रो हाफमा भएका थिए। रियलको जितमा सर्गियो रामोस र करिम बेन्जिमाले गोल गरे। खेलको ५०औं मिनेटमा डिएगो लोरेन्टेले पेनाल्टी क्षेत्रभित्र भिनिसियसलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो।

सर्जियो रामोसले पाएको पेनाल्टीलाइ गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाएका थिए। ७०औं मिनेटमा बेन्जामिनले अग्रता दोब्बर पारे। खेलको ८३औं मिनेटमा सोसिडाडका मिकेल मरिनोले गोल फर्काए।