मैमाथि बम हान्ने थापालाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

फाईल तस्विर !!

काठमाडौं,चैत,२४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताउनु भएको छ ।

मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री र केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको बताउनु भएको हो।

‘संविधानसभाको निर्वाचन २०७० सालमा मलाई ममाथि बम हान्नेलाई गृहमन्त्री बनाए, केही पनि आधार नभएकालाई स्थायी समिति बनाए। गल्ती त भएकै हो’,प्रचण्डले भन्नुभयो ”

उहाँले पार्टीप्रति प्रतिबद्ध, इमान्दार, दुःख गरेकाहरुलाई ध्यान नदिएर नेतृत्वलाई घेराबन्दी गर्नेलाई ठाउँ दिएको भन्दै गल्ती महसुस गर्नु भएको थियो ।

उहाँले दुःखसुखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशीविदेशीसँग लागेको र त्यसैका कारण पार्टी कमजोर बन्न पुगेको भन्दै आत्मालोचना समेत गर्नुभयो ।उहाँले संविधान र व्यवस्थामाथि षड्यन्त्र भएको भन्दै र जनयुद्धबाट उपलब्धिमाथि षड्यन्त्र भइरहेको बताउनुभयो । 

उहाँले अब आफू काठमाडौँमा कम र जनताका बीचमा धेरै बस्ने भन्दै त्यसका लागि रुकुमको सभाले आफूमा ऊर्जा थपेको बताउनुभयो।