भारतीय तस्कर र नेपालका प्रहरीबीच गोली हानाहान

काठमाडौं,चैत,२४-कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल-भारत सीमा नाकामा सोमबार साँझ लागूऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।

सीमा क्षेत्रमा ठूलो मात्रामा लागूऔषध भित्रिन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाका अनुसार मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको हो। ‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो।बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपरेको थापाले बताउनुभयो ।

घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनिया निवासी बब्बु सिंह घाइते भएको प्रहरीले जनाएको छ।गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेका थिए।घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। रासस