नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७३ पुग्यो

काठमाडौं,साउन,२४-नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप तीनजनाको मृत्यु भएको जानकारी दिनुभयो ।

काठमाडौंको टोखा नगरपालिका-६ निवासी ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका–३ का ७४ वर्षीय पुरुषको वीरगन्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालमा र मोरङको विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको शुक्रबारै कोसी अस्पतालमा मृत्यु भएको हो ।

३७८ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३७८ जना संक्रमित थपिएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन् ।

४९९ जना ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा ४९९ जना संक्रमणमुक्त भइ ‘डिस्चार्ज’ भएका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या १६ हजार ३१३ पुगेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा सात हजार ७८८ ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

देशभर हाल १० हजार ७९२ जना ‘क्वारेन्टिन’मा रहेका छन् । छ हजार २०६ जना ‘आइसोलेसन’मा रहेका छन् । आइसोलेसनमा रहेकाहरु सक्रिय संक्रमित हुन् ।