वन कार्यालयले रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना

जाजरकोट,फागुन २-जाजरकोट जिल्ला वन कार्यालयले सुकेका सल्लीका रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना बढेको छ । विभिन्न खोटो कम्पनीहरुले जथाभावी खोटो निकालेपछि सल्लीका रुख सुकेका थिए ।

सुकेका रुखहरु विभिन्न वन समूहले कुहिन र जल्नबाट जोगाउन सुकेको काठ बिक्री गर्ने तयारी गरेका बेला जिल्ला वन कार्यालयले बिक्री वितरणमा रोक लगाएको हो । वन कार्यालयले सुकेका काठ बिक्री वितरणमा रोक लगाएसँगै यहाँका वन समूहहरु काठ खेर जाने हो कि भनेर चिन्तित भएको बताएका छन् ।

जिल्लाका सिमा, जुगाथापाचौर, कार्कीगाउँलगायतका आधा दर्जन गाविसमा सुकेका सल्लीका काठ काट्न वन कार्यालयले प्रतिबन्ध लगाएको हो । सुकेका काठ लिनका लागि विभिन्न काष्ठ उद्योगले वन समूहसँग सम्झौता गर्न तयार भएका बेला काठ बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि समस्या भएको छ । सुकेर ढलेका, काठ सदुपयोग नगर्ने हो भने कुहिएर खेर जाने भन्दै वन समूह चिन्तित भएका छन् ।