रोल्पामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका

रोल्पा,फागुन २-चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो ।

असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बताउनुभयो ।

विद्यालय अध्ययन गर्ने उमेरका १८ जना किशोरीले यो सेवा लिएको अभिलेखमा देखिन्छ थापाले भन्नुभयो ।किशोरीले नै गर्भपतन गराउँदा सामाजिक विकृति बढ्न सक्ने किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्य बताउनुहुन्छ । किशोरी शिक्षाले उनीहरुलाई धेरै सचेत बनाएको भए पनि जिल्लाभर यो कार्यक्रम नभएका कारण सीमित ठाउँमा मात्र यसको प्रभाव देखिएको छ ।