ओलीले तत्काल राजीनामा दिनुहुन्नः सल्लाहकार थापा

काठमाण्डौं,फाल्गुन,१२-सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुपर्ने माग सर्वत्र भइरहेको छ।

मंगलबार अदालतबाट यस्तो फैसला आएपनि प्रधानमन्त्री ओलीले भने आफ्नो सचिवालयमार्फत् तत्काल राजीनामा नगर्ने जवाफ दिनु भएको थियो।

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ र, कार्यान्वयन गर्नुपर्छ’, राती अबेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत् लेख्नु भएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।’

थापाले यो फैसलाले राजनीतिक समस्या हल नहुने बताउनु भएको थियो।‘यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन’, थापाले भनेका छन्, ‘बरू अस्थिरता अझै बढ्ने छ। सत्ताको खेल बढ्नेछ।’