बाल मैत्री नगरपालिका घोषणाका लागि ३९ सुचक पुरा

ओखलढुंगा,भाद्र,२९-

ओखलढुंगाको सिद्धिचरण नगरपालिका बाल मैत्री नगर घोषणा गर्न लागिपरेको छ । बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन ऐन २०६८ ले निर्धारण गरेका ३९ वटा सुचनकहरु मध्ये आधाभन्दा बढी सुचक नगरपालिकाले पुरा गरिसकेको छ ।

ऐनमा समेटिएका बाल स्वतन्त्रताको अधिकार, पढ्न पाउने अधिकार, जन्मदर्ता गर्नुपर्ने अधिकार लगायतका सुचकमध्येबाट पालिकाले २५ वटा भन्दा सुचकहरु पुरा गरिसकेको नगरपालिका मेयर मोहन कुमार श्रेष्ठले बताए ।

राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकामा भएको एक कार्यक्रममा उनले आगमी दिनमा बाँकी सुचकहरु समेत पुरा गरेर बालमैत्री नगरपालिका घोषणा गर्ने बताएका छन् । नगरपालिकाले पूर्ण बालमैत्री नगरपालिका घोषणा गर्न नगरस्तरिय बाल क्लबहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रहरु गरिरहेको छ ।

बालमैत्री स्थानीय शासन ऐनले समेटेका सुचकहरु पुरा गर्न शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्थानीय तहहरुको भुमिका महत्वपूर्ण हुन्छ । जसमा सेवागत रुपका २७ र संस्थागत रुपमा १२ वटा सुचकहरु पर्नेगर्दछ । यी सुचकहरु मध्ये पनि अधिकांश सुचकहरु स्थानीय तहसँग सम्बन्धित रहने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

उनले नगरपालिका बाल बिबाहको दर न्युनिकरण नभएपनि क्रमिक रुपमा घट्दै गएको बताए ।सुखी नेपाली समृद्ध नेपाल’ बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा बालबालिका भन्दा अधिकांश सरोकारवाला ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने सरोकारवाला वक्ताहरुले बालबालिकाको हकहितका लागि डटेर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनिहरुले बालमैत्री नगर घोषणाका लागि बाकीँ सुचकहरु पनि चाडै नै पुरा गरी पुर्ण बालमैत्री नगर घोषणामा सहयोग गर्ने जनाएका छन् ।