समाजवादी पार्टीद्वारा नेत्री सरिता गिरी निष्काशित, सांसद पद गयो

काठमाडौं,असार,२३-समाजवादी पार्टीले पार्टीको नीतिविपरीत काम गरेको भन्दै नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिनुभयो । 

गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् । समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् ।

त्यसलगतै उनलाई कारबाही गर्ने तयारी थियो । यसबारे छानविन गर्न बनेको कार्यदलले पनि त्यसअनुसार नै सिफारिस गरेपछि कार्यकारीणी समितिले त्यसलाई औपचारिकता दिएको छ ।

गिरीले बीबीसी न्यूज नेपालीसित कुरा गर्दै  पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन्।”मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई निष्काशित गरेको भनियो। यो अनलफूल एक्ट हो,” गिरीले थपिन्।पार्टीको ४२५ सदस्यीय केन्द्रीय समितिले मात्र यस्तो निर्णय गर्न सक्ने उनको भनाइ छ।”यो कदम सङ्घीय कानुन र पार्टीको विधानविपरीत कदम हो। त्यही भएर म अब सर्वोच्च अदालत जाने उनले बताईन् ।