समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै

दाङ,असोज,३१-
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै रहेको छ । राती १२ बजेसम्म बन्दसूची पेश भएको र जम्मा ४९ दलले मात्रै सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राती १२ बजेसम्म पनि प्रतिक्षा गरेको तर ५५ दलले टोकन लिए पनि ती सबैले बन्दसूची पेश नगरेको जानकारी दिनुभयो । दर्ता भएका दलहरुको नामावली आज प्रकाशन गरिनेछ ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुँदैछ । प्रतिनिधिस भामा ११० र प्रदेश सभामा २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले बन्दसूची बुझाउँदा महिला उम्मेदवार ५० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ भने समानुपातिक र समावेशी सिद्धान्तलाई समेत आत्मसात गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।