काठमाण्डौं,असोज,३०-
अमेरिकी राष्ट्रपतिहरूमा चिनियाँ समकक्षीबारे धक मानेर व्याख्या गर्ने बानी छ । चाकरी शैलीमा रिचार्ड निक्सनले भनेका थिए, ‘माओत्से तुङले ‘संसार परिवर्तन गरे ।’ जिम्मी कार्टरका लागि देङ सियाओ पिङ विशेषणयुक्त व्यक्तित्व थिए, ‘स्मार्ट, कडा, बौद्धिक, मिजासिलो, साहसी, रूपवान्, आत्मविश्वासी, मैत्रीपूर्ण ।’ बिल क्लिन्टनले तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनलाई ‘दूरदर्शी’ र ‘असाधारण बौद्धिकता’ भएको व्यक्तिका रूपमा व्याख्या गरेका थिए । डोनाल्ड ट्रम्प पनि यो मामिलामा कम देखिँदैनन् ।
वासिंटन पोस्टले ट्रम्पले सी जिनपिङलाई चीनले शताब्दीमै पाएको ‘सम्भवतः सबैभन्दा शक्तिशाली’ नेताको रूपमा चित्रण गरेको भनी उल्लेख गरेको थियो । ट्रम्प सही हुन सक्छन् । यसो भन्नु अमेरिकी राष्ट्रपतिका लागि आत्मघाती पनि होइन । उनले युक्तिसंगत ढंगले नै थपेको हुनुपर्छ, ‘सी जिनपिङ संसारकै सबैभन्दा शक्तिशाली नेता हुन् ।’ स्पष्ट बनौं, चिनियाँ अर्थतन्त्र अमेरिकाको तुलनामा अझै पनि दोस्रोमा पर्छ । तीव्रतापूर्वक संख्या थप्दाथप्दै पनि चिनियाँ सेना तुलनात्मक रूपमा सीमित नै देखिन्छ । तर आर्थिक उन्नति र सैन्य संरचना मात्र सबथोक होइन ।
स्वतन्त्र विश्वका नेताहरूमा अझै पनि विदेशीसँग साँघुरो र व्यावहारिक पहुँच मात्र छ । उनीहरू आफ्नै देशमा आफ्ना एजेन्डा लागू गर्न सकिरहेका देखिँदैनन् । अमेरिका अहिले पनि संसारकै शक्तिशाली देश हो, तर यसका नेताहरू देशभित्रै कमजोर र विदेश मामिलामा उनका पूर्ववर्तीभन्दा कम प्रभावकारी छन् । यसको खास कारण हो, ट्रम्प अमेरिकी प्रभाव निर्धारण गर्ने मूल्य र गठबन्धनलाई घृणा गर्छन् ।
यसविपरीत संसारकै ठूलो सर्वसत्तावादी राज्यका राष्ट्रपति भने छाती फुलाएर विदेश चहारिरहेका हुन्छन् । माओपछि चीनमा उनको पकड सबैभन्दा बढी छ । त्यसमाथि माओकालीन चीन अस्तव्यस्त र गरिब थियो भने सी जिनपिङकालीन चीन वैश्विक आर्थिक वृद्धिको प्रभुत्वशाली इन्जिन हो । उनको शक्ति छिट्टै विश्व रंगमञ्चमा देखिनेछ ।
यही अक्टोबर १८ (कात्तिक १) देखि चिनियाँ कम्युनिस्ट पार्टीको पाँच÷पाँच वर्षमा हुने महाधिवेशन हुँदैछ । यो सी जिनपिङको राष्ट्रपतिको रूपमा पहिलो कार्यकाल पूरा भएको वर्ष हुनेछ । महाधिवेशनका २३ सय प्रतिनिधिले उनको जयजयकारले आकाश थर्काउनेछन् । केही आलोचनात्मक पर्यवेक्षकले सीले आफ्नो असाधारण अधिकार राम्रो वा नराम्रो केका लागि प्रयोग गर्नेछन् भनेर प्रश्न पनि उठाउलान् ।
ध्यान देऊ विश्व
आफ्ना केही विदेश भ्रमणमा सीले अलमल र समस्याग्रस्त क्षेत्रमा प्रभावकारी ढंगले आफूलाई शान्ति र मैत्री दूतको रूपमा प्रस्तुत गरे । ट्रम्पको असफलताले उनलाई झनै सजिलो बनाइदिएको छ । गत जनवरीमा स्विट्जरल्यान्डमा ट्रम्पले विश्वकै एलिटहरूसामु आफू विश्वव्यापीकरण, खुला व्यापार र जलवायु परिवर्तनबारे पेरिस सम्झौताको रक्षक बन्ने प्रतिबद्धता गरेका थिए (सीले ‘वल्र्ड इकोनोमिक फोरम’ मा उक्त विचार राखेका थिए- अनु.) । उनको भाषण सुनिरहेकाहरू प्रसन्न र आनन्दित भए । उनीहरूले ठाने, कम्तीमा एउटा विश्व शक्ति त सहीको पक्षमा उभियो जबकि ट्रम्प त्यसविरुद्ध थिए।
“सी जिनपिङ सायद ठान्छन्, करिब डेढ अर्ब चिनियाँ जनतालाई मुठीभरका मानिसको धेरै वा थोरै परीक्षण नगरिएको शक्तिको नियन्त्रणमा राख्नु चिनियाँ राजनीतिको ‘नयाँ स्वाभाविकता’ हो । तर यो स्वाभाविक होइन, खतरा हो । “
सीको मन्तव्यलाई आंशिक रूपमा ग्रहण गरियो किनभने उनले विदेशी मुद्राको ठूलो हिस्सा फिर्ता गर्नै बाँकी छ । उनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ नामक परियोजनाको नामले अलमल पार्न सक्छ, तर यसको सन्देश स्पष्ट छ- खर्बौं चिनियाँ पैसा विदेशका रेलमार्ग, बन्दरगाह, ऊर्जा केन्द्र र अरू संरचना निर्माणमा खर्च हुनेछ, जसले विश्वलाई समृद्धिको एउटै जालोमा बेर्नेछ ।
यो दोस्रो विश्वयुद्धपछि पश्चिमी युरोपमा मार्सल प्लान लागू भएपछि (जुन अत्यन्त सानो दायराको थियो) अमेरिकाले देखाउन नसकेको नेतृत्व हो । (अमेरिकाका पूर्व सेनापति एवं तत्कालीन विदेशमन्त्री जर्ज सी मार्सलको प्रस्तावमा लागू गरिएको ‘युरोपेली पुनर्निर्माण कार्यक्रम’ लाई नै मार्सल प्लान भनिन्छ । युद्धले क्षत्विक्षत् पश्चिमी युरोप पुनर्निर्माणका लागि अमेरिकाले लगानी गरेको यो योजनाको मुख्य उद्देश्य बढ्दो कम्युनिस्ट प्रभाव रोक्नु थियो ।- अनु.)
सीले उनका पूर्ववर्तीहरूले नगरेको काम देशबाहिर सैन्यशक्ति विस्तार गर्दैछन् । उनले यसै वर्ष अफ्रिकाको जिबुटीमा देशकै पहिलो वैदेशिक सैन्य क्याम्प स्थापना गरे । गत जुलाईमा उनले जलयुद्ध मार्गमा चिनियाँ जलसेनासमेत पठाए । बाल्टिक समुद्रमा नाटो सेनाको सँघारमै र रूसी बेडाको छेवैमा पुग्ने गरी उनले सेना पठाए । चीन आफ्नो स्वार्थ लाद्नको लागि कुनै पनि देशमा आक्रमण नगर्ने दाबी पटकपटक गर्छ (तालिवानबाहेक जसलाई उसले देश नै ठान्दैन) ।
शान्तिस्थापनाका लागि सहयोग गर्न, समुद्री डकैती रोक्न र मानवीय परियोजनाका लागि सैन्य आधारहरू निर्माण गरेको चीनले बताउँछ । दक्षिण चिनियाँ सागरमा निर्माण गरिएका सैन्य उडान गर्न सक्ने विमानस्थलसहितका कृत्रिम टापुमा चीन रक्षात्मक देखिन्छ । (दक्षिण चिनियाँ सागरमा चीन र पूर्वी एसियाली देशलगायत अमेरिकासँग कायम विवादबारे विस्तृतमा जान्न हेर्नुहोस् अन्नपूर्ण पोस्ट् ‘फुर्सद’ को असोज २८ को अंकमा प्रकाशित लीला न्याइँच्याइँको लेख ‘सागरमा हानथाप’ । लेख अनलाइनमा सोही शीर्षकमा उपलब्ध छ ।- अनु.) ।
प्रजातन्त्र ध्वस्त पार्न र पश्चिमलाई अस्थिर बनाउन चाहने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जस्ता वैश्विक समस्याका कारक होइनन् सी जिनपिङ । यद्यपि उनी आणविक हतियार उज्याएर विश्वमै समस्याको कारक बनिरहेको मित्र उत्तर कोरियाप्रति अति सहनशील छन् । बेलाबेलामा चिनियाँ सैन्य गतिविधिले पूर्वी एसियाका छिमेकीलाई मात्र होइन, भारत र जापानलाई समेत खतराको घन्टी बजाइदिने गरेको छ ।
देशभित्र भने आफ्नो रूसी समकक्षीजस्तै उनी पनि अति अनुदार छन् । उनी ठान्छन्, थोरै राजनीतिक उदारता पनि उनको बाधक मात्र होइन, शासनकै अन्त्य हुन सक्छ । सोभियत संघको असफलताले उनलाई तर्साएको छ र त्यसले असुरक्षा बोध जन्माइदिएको छ । उनी आफ्नो शुद्धीकरणले जन्माएका शत्रुहरूलाई मात्र अविश्वास गर्दैनन्, बरु चीनमा बढ्दो स्मार्ट फोनयुक्त मध्यम वर्ग र उनको शासन स्थापित हुँदै गर्दा अंकुराइरहेको नागरिक समाजका वीजलाई पनि त्यत्तिकै अविश्वास गर्छन् ।
उनी केवल राज्यका शक्ति संरचनाको निगरानीमा राखेर मात्र होइन, पार्टीको मुठीमा आर्थिक क्षेत्रका नेतृत्वलाई पनि कब्जामा राखेर चिनियाँ समाजमा कडा नियन्त्रण राख्न प्रतिबद्ध देखिन्छन् । यी सबले चीनलाई हुनुपर्नेभन्दा कम धनी बनाउनेछ र चीन बस्नका लागि त्रासद भूमि हुनेछ । विश्वका अन्य नेताहरूको कमै मात्र आउने झीना गुनासा आउँदाआउँदै पनि सीको नेतृत्वकालमा चीनमा मानव अधिकार उल्लंघनका घटना तीव्र गतिमा बढिरहेछन् ।उदारवादीहरूले एकपटक सीका पूर्ववर्ती हु जिन्ताओको सुधारलाई ‘हराएका दस वर्ष’ नामकरण गरेर शोक व्यक्त गरेका थिए ।
ती दस वर्ष अहिले १५ भएका छन् र सम्भवतः २० पनि हुनेछन् । केही आशावादीहरू तर्क गर्छन्, वास्तविक सी त देखिएकै छैनन् । उनीहरूका अनुसार महाधिवेशनले उनलाई शक्ति सञ्चय गर्न सघाउ पुर्याउनेछ र उनले तुलनात्मक रूपमा भ्रष्टाचार नियन्त्रण गर्दै सामाजिक र आर्थिक सुधार सुरु गर्नेछन् । यी सब हुनेछन् यदि उनी सैद्धान्तिक रूपमै बहुलवादी भए, तर उनी यसलाई घृणा गर्छन् । अनि सबै नेतृत्वको निश्चित मिति हुन्छ भन्नेहरूका लागि सावधानीको सूचना छ, सी जिङपिङ सन् २०२२ सम्म नेतृत्व त्याग्न इच्छुक छैनन् ।
डराउनुपर्ने कारण
सी जिनपिङ सायद ठान्छन्, करिब डेढ अर्ब चिनियाँ जनतालाई मुठीभरका मानिसको धेरै वा थोरै परीक्षण नगरिएको शक्तिको नियन्त्रणमा राख्नु चिनियाँ राजनीतिको ‘नयाँ स्वाभाविकता’ हो । तर यो स्वाभाविक होइन, खतरा हो । कसैसँग पनि त्यति धेरै शक्ति हुनु स्वाभाविक होइन । एक व्यक्तिको शासन विगतमा भएजस्तै अस्थिर चीनको कारक हुनेछ- माओ र उनको सांस्कृतिक क्रान्तिबारे सोचौं ।
यो अन्तर्राष्ट्रिय रंगमञ्चमा पनि मनोमानीको कारक हुनेछ, खासगरी त्यो चिन्ताजनक समयमा जतिबेला अमेरिका पछि सरिरहेछ र शक्ति संरचनामा रिक्तता बनाइरहेछ । संसारले एकलकाँटे अमेरिका र चीनमा तानाशाही दुवै चाहँदैन । विडम्बना ! यो दुवै हुनसक्छ ।
(लन्डनबाट प्रकाशन हुने साप्ताहिक म्यागजिन ‘द इकोनोमिस्ट’ को अक्टोबर १४-२०, २०१७ को मुख्य आलेखको लक्ष्मण श्रेष्ठले गरेको भावानुवाद ।) साभार : अन्नपुर्णबाट ।।