संस्थागत निर्णयविनै आयोगमा एमालेको बन्दसूची

माओवादी शीर्ष नेता समानुपातिकमा बसेनन्

 काठमाडौं,असोज,३०-

एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।

शीर्ष नेताहरुको असन्तुष्टिपछि सोमबार र मंगलबार छलफल गरेर सूचीमा नाम र क्रमसंख्या तलमाथि गर्न सकिने सहमतिका साथ प्रदेश संयोजकमार्फत तयार भएको प्रारम्भिक नाम राखेर एमालेले आयोगमा बन्दसूची बुझाएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसैविच :

माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै माओवादीले घर्तीलगायत नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाउँदै सूची बुझाएको हो ।

वरिष्ठ नेता रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदलले गृहकार्य गरी अन्तिममा मुख्य तीन नेता बसेर बन्दसूची तयार पारेका थिए । निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम समयतिर साँझ ५ बजे आयोग पुगेर माओवादीले सूची बुझाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

माओवादीले पूर्वसभामुख घर्तीका अतिरिक्त पूर्वमन्त्री हितराज पाण्डे, रेखा शर्मा, नेता मणि थापा, नारायण दाहाल, तिलक परियार, जयपुरी घर्ती, श्रवण वर्वरिया यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, नारायण शर्मा, धर्मशिला चापागाईं, बलावती शर्मालगायतको नाम समानुपातिक सूचीमा राखेको छ ।

माओवादीभित्र श्रीमान्–श्रीमती नै राजनीतिमा सक्रिय भएकामध्येबाट कतिपयले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका टिकट पाउने करिब–करिब पक्काजस्तै भएको छ ।
शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायतलाई प्रत्यक्षमै निर्वाचन लडाउने गरी कसैको पनि नाम समानुपातिक सूचीमा राखिएको छैन ।

नेता बादललाई समानुपातिक उम्मेदवार बनाउने गरी माओवादीभित्र सुरुमा चर्चा चले पनि उनले प्रत्यक्षमै निर्वाचन लड्ने बताएपछि उनको नाम समानुपातिक सूचीमा राखिएको छैन ।

दाहाल चितवन ३, थापा चितवन २ र श्रेष्ठ गोरखा २ बाट निर्वाचन लडाउने माओवादी योजना छ । नेता कृष्णबहादुर महरा, वर्षमान पुन, चक्रपाणि खनाललगायतलाई माओवादीले प्रत्यक्षमै उम्मेदवार उठाउने भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।