अपडेट : गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते

गुल्मी, कात्तिक १३-

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस आज गुल्मीको बीरवासमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो ।

बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनामा अरु पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ । अवस्था हेरेर घाइतेहरुलाई उपचालका लागि पाल्पाको तानसेन पठाइएको पनि प्रहरीले जनाएको छ । गाडीमा १३ जना यात्री, चालक र सहचालक गरी १५ जना रहेकोमा दुईजना फेला नपरेको प्रहरीले जनाएको छ ।