उपमहानगरपालिकाको पहलमा नगरका ढल,नाला सरसफाई गरिदै

नेपालगञ्ज,जेठ,८-

वर्षेनी डुवानको समस्या झेल्दै आएको नेपालगञ्जलाई डुवानरहित बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले जेसीपी पनि प्रयोगमा ल्याएको छ ।

डुबानबाट नगरवासीको जनधनको क्षती हुन नदिन वर्षा अगावै जेसीपीमार्फत सतही ढल, नाला र नाली सरसफाईमा तिव्रता दिइएको हो । हरेक वडामा नाली सरसफाई गर्नुपर्ने आवश्यक्ता(बाध्यता) का वीच उपमहानगरपालिकाले केही दिन यता मुख्य ढल, नाला र जाम भएका नालीहरुमा जेसीपीमार्फत सरसफाइ बढाएको छ ।

वर्षामा जम्मा हुने पानी स्वस्फुर्त प्रवाह÷निकासका लागि उपमहानगरपालिकाले ३ दिन यता जेसीपी, नालामेन लगायतका साधानमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुंगा, इटा, झार, फोहर र लेदो किनारा लगाएको हो ।

पहिलो चरण अन्तगर्त भृकुटीनगर नयाँ वस्तीदेखि भेरी प्राविधिक शिक्षालय– पासाङल्हामु मार्ग–नगर भवन हुँदै एमपीस्कुलसम्मको ढल,नाला सरसफाई बढाइएको उपमहानरपालिकाका बातावरण तथा सरसफाई निरिक्षक अशोक केसीले जानकारी दिनु भयो ।

गणेशमान चोकदेखि परसपुर, कर्णाली विकास बैंकदेखि बागेश्वरी मन्दिर लगायतका ठुला नालामा पनि जेसीपी, मझौला नालामा नालामेन लगाइने र स साना गल्लीका नालामा पनि जनशक्ति परिचालन गरिेने तयारी भइरहेको उपमहानरपालिकाले जनाएको छ ।

नगरका विभिन्न स्थानमा जम्मा हुने पानीको सहज निकास र सफाईका लागि ट्रिपर, ट्रयाक्टर, बेल्चा, हसिया, पञ्चागुल प्रयोग गर्दै सरसफाईका अधिकांश कर्मचारी खटाइएको निरिक्षक केसीले बताउनु भयो । भाडामा ल्याइएको डोजर डोजरमार्फत करिव एक महिनासम्म ढल, नाली सरसफाई गर्नेछ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर कुवरले आफनो घर अगाढीको नालीमा फोहर नगरी पानीको सहज निकासका लागि सचेत र जिम्मेवार बन्न आग्रह गर्नु भयो । नगरका ससाना नालीहरुको पानी ठुला नालीहरुमा बग्ने बनाइने उपमहानगरपालिकाले जनाएको छ ।

वर्षा पुर्व ठुला, साना नाली तथा ढल सरसफाईसँगै पानीको वहाव रोक्ने सवै अवरोधहरु खुलाउन पनि पहल गरिने उपमहानगरपालिकाका कार्यकारी अधिकृत कुवरले बताउनु भयो । घरको फोहर घरमै संकलन गरि उपमहानगरपालिकाको ट्रयाक्टरमा राख्ने बातावरण बनाउन पनि उहाँले सबैमा अपील गर्नु भयो ।

नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत एकिकृत शहरी विकास आयोजनामार्फत नेपालगञ्जको सतही ढल, सडक मर्मत र सुधारको काम भएपछि गत वर्षदेखि डुवानको समस्या कम हुँदै गएको छ । नगरभित्र पानी प्रवेश हुन नदिन यस अघि नै अमिलीया, दोन्द्रा, डुडुवा, रतैया नाला निर्माण गरिसकिएको छ ।